प्रजापति (PP) प्रसाईः मेरो स्मृतिमा 

शंकर प्रसाद पाण्डे

भूमिका 

एक दिन नटराज टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक श्री शिखर प्रसाईले फोन गरेर भेटनु परेको कुरा बताउनु भयो । म सरकारी जागिरबाट निवृत्त भईसकेको अबस्था भएकोले मैले उहाकै अफिसमा भट्ने प्रस्ताव राखें । कुरा भए अनुसार कमलादी स्थित नटराज टुर्स एण्ड ट्राभल्सको अफिसमा हाम्रो भेट भयो । भेटमा शिखरले पि पि प्रसाई फाउण्डेशन स्थापना गरेको र सो फाउण्डेशन मार्फत देशभरीका उत्कृष्ट शिक्षकहरु मध्ये राष्ट्रिय उत्कृष्ट शिक्षक र प्रदेश स्तरीय उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्न लागेको र त्यसको लागि मेरो सहयोगको अपेक्षा राखेको कुरा बताए । म भर्खर शिक्षा मन्त्रालयबाट निवृत्त भएको, पि पि प्रसाईको एउटा नजिकको साथी रहेको कारणले शिखरले मलाई रोजेको भन्ने कुरा भैले नबुझ्ने कुरै भएन । शिक्षा सचिव भएर काम गरेको भएता पनि आफैमा शिक्षा विज्ञ नभएको हुंदा मैले शिक्षा विभागका महानिर्देशक र शिक्षा विदहरुसंग भेटघाटको आयोजना गरी छलफल गराएको थिएँ । यसरी पि पि प्रसाईको सन्ततिहरु एवं उहाँकी धर्मपत्निको शिक्षा प्रतिको अगाध सम्मान र सत प्रयासलाई केही भए पनि सहजिकरण गर्न प्रयास गरेको भन्ने मलाई लागेको छ । 

मैले पि पि प्रसाईलाई कसरी भेटे ?

म सराकारी कर्मचारी र पि पि पर्यटन ब्यवसायी, हाम्रो भेटको माध्यम भने मेरी धर्मपत्नी प्रभा हुन । उनी अर्थात प्रभा पर्यटन विभागको कर्मचारी भएको कारणले पर्यटन ब्यवसायी पि पि प्रसाईको उनीसंग कामको सम्बन्ध हुनेनै भयो । धेरै पर्यटन ब्यवसायीहरुसंग उनको दैनिक कार्य/सरकारी कामकाज पर्ने भए पनि केही असल र उत्कृष्ट पर्यटन ब्यवसायीहरुसंग उनले मलाई भेट गराउने गर्थिन । त्यस मध्येका उत्कृष्ट एवं असल पर्यटन ब्यवसायी हुन पि पि प्रसाई। जो संग मेरो आफ्नै ब्यक्तिगत सम्बन्ध र मित्रता कायम भयो । उहांको र मेरो पहिलो भेट नटराज टुर्स एण्ड ट्राभल्सको अफिस घण्टाघर नजिक भएको थियो । 

मैले चिनेको पि पि प्रसाई 

हाम्रो भेटघाट त्यति वाक्लो नभए पनि वरावार भेट भएको संझना छ । हरेक भेटमा हामी राष्ट्रिय, अन्तराष्ट्रिय विषयमा विचार विमर्श गर्ने गर्दथ्यौं । विशेष गरी समाज सेवाका कार्यहरु, पर्यटन प्रर्वद्धन, शिक्षा विकास तथा नेपालको शैक्षिक विकास जस्ता विषयहरुमा हामी केन्द्रित भएर कुराकानी गर्दथ्यौँ । म त्यस वेला २०५० सालमा जुम्लामा प्रमुख जिल्ला अधिकारी भएर जान लाग्दा उहांले जुम्लाको विकासमा योगदान पुर्‍याउन सल्लाह दिनु भएको थियो । जुम्लाबाट काठमाण्डौ आंउदा म उहाँलाई भेटन गएको थिएं । उहाँले जुम्ला एयरपोर्ट भएर मुगुको रारा तालसम्म पर्यटकहरु लग्ने र त्यो क्षेत्रमा पर्यटन विकासका सम्भावनाहरु खोजी गर्ने विषयमा छलफल र चिन्ता गरेको आजै जस्तो लाग्छ । यी सबै भेटघाट र विचार विर्मशको माध्यमले नजिकबाट मैले बास्तविक पि पि प्रसाई चिन्ने मौका पाएको थिएं । 

सह्दयी र सहयोगी पि पि प्रसाई 

पि.पि संग वरावर भेट नभए पनि हाम्रो एकजना नजिकको भाई खेम पंगेनी उहाँको अफिसमा Chief Account Officer को रुपमा कार्यरत रहेको र उनले सधैं पि पि प्रसाईको विषयमा चर्चा गर्ने हुंदा हामी उहाँको विषयमा जानकार रहन्थ्यौँ। उहांले आफ्नो गांउमा केही समय शिक्षक भएर काम गरेको भन्ने पनि सुनेका थियौं । उहांको अफिसमा कार्यरत कर्मचारीहरु सबै सन्तुष्ट देखिन्थे । विस वर्षसम्म पनि कर्मचारीहरु त्यही अफिसमा कार्यरत रहनु पि पि प्रसाईको कर्मचारीहरु प्रति राम्रो ब्यवहार भएको प्रमाण हो । कर्मचारीहरुलाई गार्‍हो, सांघुरो परेको वेलामा संस्थागत रुपमा सहयोग गर्न नमिल्दा ब्यक्तिगत रुपमा पनि सहयोग गर्ने गरेको हामीले वरावर सुन्ने गर्दथ्यौँ । उहांले विभिन्न शैक्षिक निकाय र सामाजिक संघ संस्थालाई पनि वरावर सहयोग गर्नु हुन्थ्योँ । मृदु भाषी  पि पि  कर्मचारी लगायत सबै संग सरल, सहज र सहयोगी ब्यवहार गर्नु हुन्थ्यो । 

पि पि प्रसाई फाउण्डेशन र शिक्षा विकासमा योगदान 

पि पि प्रसाईले भगवानको कृपाले अतिनै असल धर्मपत्नी शारदा र सन्तानहरु छोरी शिखा एवं छोरा शिखर पाउनु भएको रहेछ । उहांहरुले आफ्ना अभिभावक पि पि लाई सदा सर्वदा जीवन्त राख्‍ने उद्देश्यले एउटा सामाजिक संस्था पि पि प्रसाई फाउण्डेशन स्थापना गरी विभिन्न सामाजिक एवं परोपकारी कार्यहरुको थालनी गर्नु भएको छ । यस संस्थाको सबभन्दा राम्रो काम देशभरीका उत्कृष्ट शिक्षकहरुको सम्मान हो भन्ने कुरामा कुनै शंका छैन । किन भने शिक्षक असल भए मात्र असल विद्यार्थीको निर्माण गर्न सम्भाव हुन्छ । असल शिक्षकले विद्यार्थीको मनोभावना बुझेर शिक्षा प्रदान गरेमा मात्र शिक्षक र विद्यार्थी बिच आत्मियता कायम हुन गई विद्यार्थीले आफ्नो गन्तब्य पहिचान गर्न सक्छ  । कक्षा कोठामा भएका सबै विद्यार्थीहरुको मनोभावना (Psychology) सवै प्रकारको हुन सक्दैन । म आफै विद्यार्थी, शिक्षक र शिक्षाको नीति निर्माण तहमा रही अनुभव गर्ने अवसर पाएको नाताले यो विषय निर्धक्क रुपमा पस्कन सकेको छु । हाम्रा प्राचीन नीतिहरुले गुरुलाई गु अन्धकारबाट रु  प्रकाश तिर डोर्‍याउने बन्दनीय व्यक्तिको रुपमा लिएको छ। यसैले गुरुलाई 

गुरु ब्रहमा गुरु विष्णु गुरुर्देवो महेश्वर 

गुरु साक्षात पर ब्रह्म तस्मै श्री गुरुवे नमः” 

भनी बन्दना गर्ने गरेका हुन ।

र अन्त्यमा 

पि पि प्रसाई फाउण्डेशनमा परोक्ष रुपमा भए पनि सहभागी हुन पाएकोमा आफुलाई गौरवान्वित भएको महशुश गरेको छु। यो फाउण्डेशन स्थापना गर्ने परिकल्पनाकार तथा स्थापना गर्नमा सहयोग सद्भाव एवं सकृय हुनु हुने सबै प्रति नमन गर्दै पि पि प्रसाई प्रति श्रद्धा सुमन अर्पण गर्दछु ।